पर्यटन

बिरगंजको पर्यटकीय स्थल भिस्वा डांंडा प्रचार प्रसार कै अभावमा ओझेलमा ।
बिरगंज महानगरपालिका वडा नं १५ मा अवस्थित एतिहासिक महत्व र पर्यटकीय स्थलको प्रचुर संभावनाले युक्त रहेको भिस्वा डांडा अहिले प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । बिरगंजको एउटा महत्वपूर्ण पर्यटकिय स्थलको रुपमा रहेको भिस्वा डाडा अहिले उदासिन रहेको छ । भिस्वा डाडा जहा हामी बुद्धको आस्था भनेर गर्व गर्छौ त्यहाँ अहिले पर्यटकको पर्खाइ र सरसफाइको अभाव ले ओझेलमा परेको छ ।

बिरगंजको घडिअर्वा पोखरी जस्तै भिस्वा डांडा भिडभाड बाट एक छिन शान्त बस्ने ठाउँ , योगा गर्ने , मर्निङ वाक गर्ने ठाउँ , पिकनिक मनाउने ठाउँ भएपनी सोचेको जस्तो विकास हुन सकेको छैन । त्यस्तै यहाँका जनप्रतिनिधि को रवैयाको कारणले पनि वषौ देखि यस्को विकास जुन गतिमा हुनुपर्ने हो त्यसो हुन नसकेको स्थानियहरुले बताउने गरेका छन ।
त्यस्तै मधेस प्रदेश सरकारले पर्यटन लाई आकर्षित गर्नका लागि भिजिट मधेस नेपाल अभियान’ सुरु गरेपनि त्यो अभियान कार्गर नभएर कागजमा मात्र सिमित रहेको देखिन्छ । यस्को उद्वारणको रुपम्मा बिरगंजको भिस्वा डांडा लाई लिन सकिन्छ । एउटा ऐतिहासिक,धार्मिक र पर्यटकीय स्थलहरुको प्रचुर संभावना बोकेको स्थल लाइ प्रचार प्रसार कै अभावमा ओझेलमा पारिएको छ ।
भिस्वा डांडा लाई जति प्रचार प्रसारमा पहल र प्रयास हुनुपर्ने हो त्यस्तो हुन सकेको छैन।यस लाई पर्यटकीय स्थलको रुपमा प्रचार प्रसार गर्ने हो भने सिमा संग जोडिएर रहेको भारतिय पर्यटक संगै आन्तरिक पर्यटकलाई आकर्षित गर्न ठुलो सहयोग हुने छ ।
तस्विरहरू :-


रौतहटमा सरस्वती माताको मुर्ति विसर्जनको क्रममा हिन्दु समुदाय माथी गैर हिन्दु समुदायले हस्तक्षेप गर्दै कुटपिट गरि घाइते बनाएको र विगत केहिदिन यता हिन्दुहरुको हरेक चाडपर्वहरुमा मुस्लिमहरुले यसरी हमला गर्नु निकै दुस्खद र विडम्बनापूर्ण रहेकोे छ।
यस्ता किसिमको दुस्खद घटना हाम्रो समाजमा घटदै गईरहेको ले यो देश कता तिर जादैछ। भने प्रश्नवाचक चिन्ह समेत खडा भएको छ। यस्ता किसिमको सम्प्रादायिक घटना बारम्बार घटनु पक्कै पनि देश र जनताको लागी राम्रो संकेत होईन।। यस्ता किसिमको घटना जुनसुकै समुदायको माध्यमबाट घटेपनी त्यसको उचित समाधान र दोषीहरुलाई कानुनको दायरामा ल्याउनै पर्दछ।
यहि बिषयलाई लिएर आज बिरगंजमा हिन्दुहरुको केही जत्थाहरुले बिरगंज बन्द गराउदै तथा विभिन्न किसिमको नारा जूलूस गर्दै बिरगंज नगर परिक्रमा गरी ,,हिन्दुत्त्व मास्न पाईदैन,, हिन्दुहरु माथीको आक्रमण बन्द गर,, दोषीलाई कार्यवाही गर,, जस्ता नारा लगाउदै जिल्ला प्रशासन कार्यालय पर्साको मुलगेट मा धर्ना दिंदै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्रसमेत बुझाएका छन ।
रौतहट । ५ फाल्गुन । रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने बिषयमा शनिबार साँझ दुई पक्षबीच भएको झडपमा केही स्थानीय घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए । उनकाअनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए । शनिबार स्थानीय प्रशासनको रोहबरमा दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो ।
राैतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले सरस्तीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको बताए ।
‘अहिलले अनिश्चितकाल सम्मको लागि कर्फ्यू आदेश जारी भइसकेको छ,‘ उनले भने,‘यहाँको स्थिति अनकुल छैन । हामी स्थिति नियन्त्रणमा लिँदै दुवै पक्षलाई सम्झाउने प्रयास गरिरहेका छौँ।’
झडपमा दुबै पक्षका मानिसहरु घाइते भए पनि प्रहरीले यसबारे जानकारी दिएको छैन । घट्नास्थलमा नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआईजी यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआईजी दिपेन्द्र श्रेष्ठ समेत पुगेका छन् ।
मूर्ति सेलाउने बिषयमा झडप र साम्रदायिक सद्भाव बिग्रिन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस गाउँमा पछिल्लो ५ बर्ष देखि मूर्ति सेलाउने बिषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।
साभार:ईकान्तिपुरबाट
वीरगंज महानगरपलिकाले सबैठवामा निर्माण हुन लागेको स्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास गरेको छ ।
वीरगंज । वीरगंज महानगरपालिकाले वडा नं. २३ सबैठवामा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न सुरु गरेको छ ।
सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण कार्य सुरु गरेको हो ।
यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको प्रयोगशाला भवनको सोमबार शिलान्यास गरिएको छ ।
भवनको पूर्व मन्त्री एवं पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादब र वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
भवनको शिलान्यास गर्नुहुँदै पूर्व मन्त्री एवं पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादबले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्न लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
यस्तै महानगर प्रमुख सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।
महानगरको ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागिरहेको भन्दै उहाँले यसमा सबैको साथको आवश्यकता रहेको बताउनुभयो ।
मुल्य अभिवृद्धि करसमेत गरि ६६ लाख ५१ हजार ५ सय ३७ रुपैयाँमा निर्माण हुन लागेको प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ ।

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले धार्मिकस्थल र शिक्षण संस्थाका भवनमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा राेक लगाउने भएकाे छ।
आइतबार बसेकाे महानगरपालिकाे बजार व्यवस्थापन तथा अनुगमन समितिकाे बैठकले महानगरमा रहेका मठमन्दिर,मस्जिद,विद्यालय र क्याम्पसकाे भवन र जग्गामा मदिरा र सुर्तीजन्य पदार्थकाे बिक्रीवितरणमा राेक लगाउने निर्णय गरेकाे हाे ।
बैठकमा स्वास्थ्य ऐन अनुसार मठमन्दिर र शिक्षालयको वरिपरि पाँच सउ मिटरसम्मकाे क्षेत्रमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न नपाइने बिषयमा गहन छलफल भएपनि हाललाइ विद्यालय,क्याम्पस तथा मठमन्दिर, मस्जिद जस्ता धार्मिकस्थलका भवन र जग्गामा मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीवितरण र कारोबारमा रोक लगाउने निर्णय गरिएको छ ।
बैठकले महानगरमा रहेका सहकारीहरुको अनुगमन अझ प्रभावकारी बनाउने ,अनुगमनको क्रममा दिइएको निर्देशन पालन भए नभएको बारे बुझ्ने , निष्क्रिय सहकारीहरुलाई खारेजिको प्रक्रियामा लाने र विद्यालयहरुको पनि अनुगमन गर्ने निर्णय गरेको छ ।
बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई , खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास ,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरअंक्षक पुष्कर बाेगटीमुख, उपभोक्ता मन्चका अजित भुजेल लगायतकोपनि सहभागीता थियो ।

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विकास निर्माणका काम समयमै नसक्ने ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
साेमबार वीरगन्जमा आयाेजित प्रेस संगठन नेपालकाे २० ओैं स्थापना दिवस तथा राष्ट्रिय परिषद बैठककाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै मेयर सिंहले कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग यस्ताे आग्रह गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै मेयर सिंहले भने,` ठेक्का सम्झाैता गरेर समयमा विकास निर्माणका काम नगर्ने ठेकेदारकाे प्रवृत्ति स्थानीय तहका लागि ठूलाे चुनाैती भएकाे छ।त्यसकारण कानून संशाेधन गरेर भएपनि समयमा काम नसक्ने ठेकेदारलाई कानूनी कारबाहीको दायरामा सरकारले ल्याउनु पर्छ।´
फरक प्रसंगमा मेयर सिंहले पत्रकारीतामा सुधारकाे आवश्यकता रहेकाे पनि बताए।पित पत्रकारिता बढेकाेमा चिन्ता व्यक्त गर्दै उनले भने,पत्रकार आफैं अदालत,आफैं न्यायाधीश ,आफैं अख्तियार बनेर समाचार लेख्ने गरेका छन्।याे गम्भीर चिन्ताकाे विषय हाे।यसमा पत्रकारले ध्यान दिनुपर्ने आवश्यक छ।
स्थानीय तहमा पाँच वर्ष काम गर्नका लागि जनप्रतिनिधिहरु निर्वाचित भएकाे भए पनि दुई वर्ष वितिसक्दा समेत आवश्यक कर्मचारी अभावमा काम गर्न नसकिएको भन्दै तत्काल कर्मचारी पूर्तिको व्यवस्था मिलाइदिन आग्रह गर्नु भयो ।
वीरगन्जका श्रमजीवी पत्रकारहरुका लागि वीरगन्ज महानगरपालिकाले थुप्रै काम गरिरहेकाे उनले जानकारी गराए । वीरगन्ज महानगरपालिकाले आमसञ्चार प्राधिकरण गठन गर्नुका साथै लाेक कल्याणकारी विज्ञापन वितरण , ज्येष्ठ पत्रकारका लागि पेन्शनकाे व्यवस्था , पत्रकारका लागि आपतकालीन् काेष स्थापना लगायतका काम गरेकाे उनले सुनाए ।
प्रेस संगठनका केन्द्रीय अध्यक्ष विष्णु सापकाेटाकाे अध्यक्षता तथा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकाेटा,उपमहासचिव मातृका यादव,सचिव लिलामणी पाेखरेल लगायतलेपनि सम्बाेधन गरेका थिए ।
फेरियो वीरगन्जको मुहार

वीरगन्ज । मुलुकको प्रवेशद्वारको रूपमा चर्चित औद्योगिक र व्यापारिक नगरी वीरगन्ज महानगरको मुहार फेरिएको छ । कुनै बेला अत्यन्त साँघुरो सडक, अव्यवस्थित घनाबस्ती र फोहोरका कारण अस्तव्यस्त देखिने वीरगन्ज अहिले व्यवस्थित सहरको रूपमा परिवर्तन हुँदै गएको छ ।
सफासुग्घर र व्यवस्थित सहर बनाउने वीरगन्ज महानगरपालिकाको अभियानमा यहाँका स्थानीय बासिन्दा, विभिन्न सङ्घ संस्था र सरोकारवाला निकायहरूले समन्वय, सहयोग र सहकार्य गरेपछि वीरगन्जको काँचुली नै फेरिएको छ । यहाँ रहेका धार्मिक एवं पर्यटकीय स्थलहरूको सौन्दर्यीकरण र व्यवस्थापन गरिएको छ भने साँघुरा सडक फराकिलो गरी आधुनिक बस पार्क सञ्चालनमा ल्याइएको छ । फोहोरको समुचित व्यवस्थापनलगायतका विषयलाई विशेष महत्व दिइएको छ भने हरित सहरको अवधारणालाई कार्यान्वयनमा ल्याइएको छ । यीलगायत विभिन्न क्षेत्रका गरिएको सुधार कार्य र स्तरोन्नतिले गति लिएपछि एक दशकअघिको वीरगन्ज र अहिलेको वीरगन्जमा निकै विकास भएको अनुभूति गर्न सकिन्छ । वीरगन्जमा भएका परिवर्तनलाई यसरी उल्लेख गर्न सकिन्छ ।
धार्मिक स्थलको पहिचान र सौन्दर्यीकरण
वीरगन्ज महानगरपालिकाले एक वर्षदेखि धार्मिक रूपले महत्वपूर्ण र ऐतिहासिक महत्व बोकेका तर ओझेलमा परेका एवं जीर्ण अवस्थामा रहेका धार्मिक स्थलको पहिचान गरी स्तरोन्नति र सौन्दर्यीकरण गरेको छ । महानगरवासीलाई अनुभूति गरी विकास कार्यलाई अगाडि बढाइएको छ ।
बारा जिल्लाको गढीमाई जस्तै धार्मिक आस्थाको केन्द्रबिन्दु रहेको वीरगन्जको गहवामाई मन्दिरको सौन्दर्यीकरण र स्तरोन्नतिले यहाँको वातावरण फेरिएको छ । वीरगन्जको मुख्य स्थानमा रहेको गहवामाई मन्दिर यस भेगकै सबैभन्दा बढी धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको छ । अन्य दिनको तुलनामा बडादसैँको घटस्थापनादेखि दशमीसम्म भक्तजनको उपस्थितिले मन्दिर परिसर मात्र नभई यस क्षेत्रका अन्य ठाउँ भरिभराउ हुने गर्छ । यहाँ जसलाई जता मन लाग्यो त्यहीँ ठाउँमा र बाटोमै पसल राख्ने गरिएको थियो तर अहिले भने त्यसलाई व्यवस्थित गरिएको छ ।
माईस्थान गहवामाई मन्दिर परिसरभित्रका सबै ठाउँ खाली गराई भक्तजनको सहज आवागमन बनाइएको छ । मन्दिरसम्म सवारीसाधनको प्रवेश निषेध गरिएको छ भने पसलहरू पूर्ण रूपले हटाइएको छ । मन्दिर वरिपरि पार्क जस्तै खुला र फराकिलो स्थान बनाइएको छ । मन्दिरको सौन्दर्यीकरणको ६० प्रतिशत काम सकिएको र ४० प्रतिशत काम अझै बाँकी छ ।
माईस्थान गहवामाई मन्दिर परिसरसँग जोडिएको कालभैरव, लक्ष्मीमाता, सितलामाई, चित्रगुप्त, दुर्गा भवानी, गीता मन्दिर, गोपाल मन्दिर, घडीअर्वा पोखरी परिसरभित्रको सूर्य मन्दिर र रामजानकी मन्दिर जीर्णाेद्वारको कार्य योजना बनाई धार्मिक पर्यटकीय स्थलको रूपमा घोषणा गरिएको छ । सोही अनुरूप मन्दिरको स्तरोन्नति, सौन्दर्यीकरण गरि सेवा सुविधा दिने नीति अनुरूप महानगरपालिकाले दीर्घकालीन र अल्पकालीन योजना अनुरूपको कार्यलाई अगाडि बढाएको महानगरका मेयर राजेशमान सिंहले बताए ।
व्यक्ति विशेष पुजारीको अधीनमा ७५ वर्षसम्म एकाधिकारको रूपमा रहेको रामजानकी मन्दिरको जग्गा खाली गराई महानगरपालिकाले आफ्नो स्वामित्वमा लिएर माघ ८ गते रामजानकी, लक्ष्मण र हनुमानजीको पाँच फिट उचाइको कलात्मक मूर्ति र कोणार्क शैलीको छुट्टै छ फिटको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा गरिँदै छ ।
यस्तै पिपरामा रहेको ४० वर्ष पुरानो सानो पशुपतिनाथको नामले परिचित पशुपतिनाथको मन्दिर सौन्दर्यीकरण गरी नियमित रूपमा पूजापाठ हुने गरेको छ । पिपरामै रहेको १३५ वर्ष पुरानो नरसिंह भगवान्को मन्दिरको निर्माण, सौन्दर्यीकरण, स्तरोन्नति र विस्तारका लागि दीर्घकालीन योजना अनुरूप ५० करोड रुपियाँ छुट्याएर कामको थालनी गरिएको छ । यस्तै पर्सा जिल्लाको अत्यन्त प्रख्यात तथा सर्वसाधारण गरिब तथा असहायहरूको विवाह स्थलको रूपमा परिचित बिन्दवासिनी माईको मन्दिर निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रस्ताव) तयार भइसकेको र निकट भविष्यमा काम सुरु हुने बताइएको छ ।
पर्यटकीय स्थलको विकास र विस्तार
वीरगन्जको बाटो भई सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिने गरेका छन् । भारतीयलगायत अन्य पर्यटकका लागि मुलुकको प्रमुख प्रवेशद्वार भनिएको वीरगन्ज भन्सार नाकाको इनर्वा प्रहरी चौकी नजिक कलात्मक शौलीमा शङ्कराचार्य प्रवेशद्वारको निर्माण गरिएको छ ।
नेपाल भित्रिने पर्यटक वीरगन्जलाई बाटो रूपमा मात्र प्रयोग गर्दा वीरगन्जको आर्थिक अवस्थामा समेत प्रभाव पारेको छ । वीरगन्जमा बास नबस्नुको मुख्य कारण पर्यटकीय क्षेत्रको विकास र विस्तार नहुनु एक प्रमुख कारण रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ । महानगरपालिका र पर्सावासीका लागि यो चिन्ता विषय भएको मेयर सिंहले बताए । मुलुकको अन्य ठाउँमा जान वीरगन्जलाई बाटो रूपमा प्रयोग गर्ने पर्यटकहरूलाई बास बस्ने वातावरण बनाउन पर्यटकीय स्थलको पहिचान गरी विकास गर्न पर्यटन व्यवसायी, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको प्रमुख दायित्व रहेको उनले बताए ।
पर्यटकीय स्थलको रूपमा परिचित पर्सा जिल्लाको ठोरी, ठोरी जङ्गल रिसोर्ट सुवर्णपुरको होमस्टे रामभउरीभाटाको दुधेश्वर महादेव र झबराहाको इन्दु जङ्गल रिसोर्ट पर्याप्त नरहेकोले वीरगन्ज महानगरपालिकाले निकट भविष्यमा तिलावे नदीलाई प्रयोग गर्दै अलौँ र बिन्दवासिनीमा २९ बिघा जग्गामा ताल निर्माण र भुटनदेवीमाईलाई पार्कको रूपमा निर्माण गर्ने अठोट लिएको उनले बताए । अङ्ग्रेजी नयाँ वर्ष २०२४ मनाउन वीरगन्ज भन्सार नाकाबाट २०२३ डिसेम्बर ३० र ३१ तारेख (पुस १४ र १५ गते) भित्रिएका करिब एक हजार सात सय भारतीय चारपाङ्ग्रे सवारीसाधन र सोमा रहेका भारतीय पर्यटकमध्ये लगभग ९० प्रतिशतभन्दा बढीले वीरगन्जबाहेकका ठाउँलाई पर्यटकीय स्थानको रूपमा रोज्नु चिन्ताको विषय भएको होटेल तथा पर्यटन व्यवसायीहरूको भनाइ छ ।
सफासुन्दर हराभरा नगर
कुनै बेला फोहोर र मच्छरको नगरीको रूपमा वीरगन्जले पहिचान बनाएको थियो । वीरगन्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरीको संयुक्त प्रयास र सहकार्यमा सफासुग्घर र हराभरा वीरगन्जको अवधारणाले मूर्त रूप लिँदै गएको छ । वीरगन्ज महानगरपालिकाले फोहोर गर्ने व्यक्ति, सङ्घसंस्थालाई दण्डित गर्न थालेपछि सबै सचेत भएका छन् ।
महानगरपालिकाले तोकेको समय र सवारीसाधनमा फोहोर फाल्ने बानी बसाउन सर्वसाधारणलाई गरिएको आग्रह कार्यान्वयनमा आएको छ । त्यस क्रममा फोहोर जथाभावी फाल्ने व्यक्ति, सङ्घसंस्था, वित्तीय संस्थासँग जरिवानावापत १५ महिनामा २५ लाख रुपियाँ असुल गरिएको मेयर सिंहले बताए । वीरगन्जमा ढल समस्याको रूपमा देखिएकोले नौ किलो मिटर ढल पूर्ण सफा गरी ढलमाथि निर्मित सरंचना भत्काइएपछि हाल ढलमा पानीको बहाव तथा वर्षायाममा पानी जम्ने कार्य केही हदसम्म निरूपण भएको छ ।
१० वर्षको सफल प्रयासपछि हरित वीरगन्जको अवधारणाले मूर्त रूप लिँदै छ । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले १० वर्षअघि दुई वटा बिरुवाबाट वृक्षारोपणको सुरुवात गरेपछि हाल वीरगन्जको मुख्य व्यवसायिक तथा वित्तीय सस्था बैङ्क, तारे होटेल औद्योगिक प्रतिष्ठान रहेको आर्दशनगरलगायतका अन्य विभिन्न ठाउँमा लगभग आठ हजार विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गरिएको छ ।
ग्रिनसिटीका अध्यक्ष खेतानले आफूहरूको कामबाट प्रभावित भएपछि बिरुवाको संरक्षण तथा शान्ति सुरक्षामा प्रमुख भूमिका निर्वाह गर्ने नेपाल प्रहरी र वीरगन्ज महानगरपालिका तथा केही महिनादेखि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुरको सहयोग प्राप्त भइरहेकोले निकट भविष्यमा वीरगन्ज महानगरलाई हराभरा बनाई हरित सहरको रूपमा विकसित गर्ने योजनाका साथ काम अगाडि बढिरहेको बताउछन्।
उज्यालो वीरगन्जको कल्पना
वीरगन्ज महागरपालिकाले यसै आर्थिक वर्षदेखि उज्यालो वीरगन्ज अभियान सञ्चालन गरिरहेको छ । महानगरपालिकाले वीरगन्जको मुख्य सडकको दुवै किनारमा साइड लाइट, बिजुलीको पोलमा झिलिमिली बत्ती, प्रत्येक बिजुलीको पोलमा भेपर लाइटको व्यवस्था मिलाएपछि उज्यालो वीरगन्ज अभियानले मूर्त रूप लिँदै छ ।
साधन र स्रोत कमीका कारण महानगरका ३२ वडालाई पूर्ण रूपले उज्यालोमा परिणत गर्न नसकिएको भए पनि केही महिनाभित्रै सबै वडा उज्यालो हुने दाबी मेयर सिंहको छ । वीरगन्ज उज्यालो भएपछि शान्ति सुरक्षामा प्रहरीलाई सहयोग पुगेको छ, आवतजावत गर्ने बटुवा र वीरगन्जको एक मात्र बसपार्क झिलीमिली हुँदा सर्वसाधारण यात्रीहरूलाई निकै राहत मिलेको छ ।
औद्योगिक र व्यापारिक नगरी
वर्षौंदेखि वीरगन्जको परिचय र पहिचान औद्योगिक तथा व्यापारिक नगरीको रूपमा हुने गरेको छ । मुलुकको प्रायःजसो ठुला र साना औद्योगिक घरानाका व्यक्तिहरूको ठुला, मझौला र साना उद्योगहरू वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा स्थापना भएको छ ।
वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा करिब दुई हजारको हाराहरीमा उद्योग छन्, जसमध्ये ठुला उद्योगको सङ्ख्या करिब १५० को हाराहारीमा छ । सरकारले व्यापार सहजीकरण गर्न वीरगन्जको सिर्सियामा सुक्खा बन्दरगाह र अलौँमा एकीकृत सुरक्षा जाँच चौकी आइपिसीको (वीरगन्ज भन्सार) को सञ्चालन केही वर्षदेखि गर्दै आएपछि उद्योगपति र व्यापारीहरूलाई सहज र सजिलो भएको छ । मुलुकले प्रयोग गर्ने भारतको कोलकोत्ता बन्दरगाहबाट सोझै कन्टेनर र रेलवेबाट सुक्खा बन्दरगाहसम्म सामानको आयात र निर्यातबाट आर्थिक रूपमा तथा सुरक्षाको दृष्टिकोणले सरलता भएको छ । इनर्वामा रहेको वीरगन्ज भन्सार कार्यालय अलौँमा आइपिसिमा परिणत भएपछि व्यापारी र भन्सारलाई पनि सहज भएको छ ।
सुविधा सम्पन्न तथा एउटै थलोबाट सबै जसो काम सम्पन्न हुने भएपछि व्यापार सहजीकरणका पनि सरलता आएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष माधवलाल राजपालको विचारमा सरकारले व्यापारीहरूका लागि केही सुविधा दिए पनि उद्योगमैत्री वातावरण बनाउन नसक्दा लगानी भित्रिन सकेको छैन । विदेशी लगानी भित्रिनुभन्दा पनि स्वदेशी लगानीको संरक्षण हुन नसक्दा मुलुकको उद्योग व्यवसाय फस्टाउन नसक्नु एक महìवपूर्ण कारक तìव हुन सक्छ ।
मुलुक आर्थिक मन्दीबाट उठन नसकेको अवस्थामा सरकारले विभिन्न बहानामा व्यवसायीहरूलाई दुःख दिने नियतले ल्याएको नीति कानुन परिमार्जित नभए निकट भविष्यमा उद्योग व्यवसायहरू पनि पलायन हुने डरलाग्दो स्थिति सिर्जना हुने सम्भावना उहाँले व्यक्त गर्नुभयो । सरकारले बारा जिल्लाको सिमरामा विशेष आर्थिक क्षेत्र (सेजको) स्थापना गरे पनि कार्यान्वयनमा आउन नसक्नुको प्रमुख कारण सेजभित्र स्थापना हुने उद्योगहरूले विशेष किसिमका सुविधा र छुट नपाउनु पनि हो । सेजको व्यवस्थापन पक्ष कमजोर हुँदा पनि उद्योगपति र व्यापारीहरू सेजभित्र उद्योग स्थापना गर्न आलटाल गरिरहेका छन् ।
शिक्षामा अग्रणी
शिक्षा र स्वास्थ्यको क्षेत्रमा वीरगन्जका उद्योगपति र व्यापारीहरूको ठुलो ऐतिहासिक योगदान रहेको छ । दाताहरूले जग्गा दान तथा आर्थिक सहयोगका साथै समन्वयको भूमिका निर्वाह गरेपछि वीरगन्जमा प्रायःजसो माध्यमिक विद्यालयहरू सञ्चालनमा आएका छन् ।
मुलुकको जेठो माध्यमिक विद्यालय त्रिजुद्ध रधुवीरराम माध्यमिक विद्यालय र उच्च शिक्षामा ठाकुरराम बहुमुखी क्याम्पस तत्कालीन समाजसेवी तथा व्यापारी रधुवीरराम र महावीर प्रसादजीले स्थापना गरेका थिए । यस्तै बिहारीलाल खेतानले हरिखेतान बहुमुखी क्याम्पस बनाइदिएपछि सोको अनुकरण अन्य दाता परिवार उद्योगपति र व्यवसायीहरूले गरेका थिए । यहाँ एक दर्जनभन्दा बढी विद्यालय दाता परिवारको सहयोग र सहकार्यमा सञ्चालन भइरहेको छ ।
दाता महावीरप्रसाद बृजलाल केडियाको आर्थिक सहयोगमा सुन्दरमल्ल रामकुमार केडिया कन्या मावि, जग्गादाता पितरद्धिन केडिया र निर्माणकर्ता सुरजमल्ल तुल्स्याङले त्रिभुवन हनुमान मावि, जगरनाप्रसाद अग्रवालले माईस्थान विद्यापीठ मावि, महावीरप्रसाद कलवारले नेपाल राष्ट्रिय विद्यापीठ मावि, ताराचन्द किसनलालको सहयोगमा ताराचन्द किसनलाल मावि छपकैया र दाता पन्नालाल रामचरणको सहयोगमा पन्नालाल माविलगायत एक दर्जनभन्दा बढी मावि र उच्च मावि यहाँ सञ्चालनमा छन् । यहाँ कुनै बेला उच्च अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता थियो तर अहिले स्नातकोत्तरसम्मको अध्ययन अध्यापनले सहज भएको छ ।
स्वास्थ्य क्षेत्रमा अब्बल
स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारले नारायणी अस्पताल सञ्चालन गरेको भए पनि अस्पताल परिसरमा भएका धेरै जसो निर्माण कार्यहरू दाता परिवारको आर्थिक सहयोगमा भएको छ । अस्पतालभित्रका मूल संरचना प्रसूति गृह भवनको निर्माण वीरगन्ज उद्योग वाणिज्य सङ्घको सहयोग, सहकार्य र समन्वयमा वीरगन्जका विभिन्न दाता परिवारको आर्थिक सहयोगमा भएको हो ।
यस्तै त्रिवेणी देवी सङ्घाई आकस्मिक कक्षको निर्माण उद्योगपति वीरेन्द्रकुमार सङ्घाइले गरिदिएका हुन् । समाजसेवी व्यापारी विश्वनाथ साहले बर्निङ वार्ड र खेतान परिवारले ओपिडीको निर्माण गरेर अनुकरणीय कार्य गरेका छन् । यहाँ निजी स्तरमा सञ्चालित नेसनल मेडिकल कलेज छ, जहाँ चिकित्सा विज्ञानको अध्ययन हुन्छ । यस्तै निजी क्षेत्रले सञ्चालन गरेका अन्य अस्पताल पनि छन् । पछिल्लो पटक नारायणी अस्पतालमा भएका परिवर्तनले बिरामीहरूलाई अन्यत्र रिफर भएर जानुपर्ने बाध्यता केही हदसम्म हटेको छ ।
राजस्वमा १८ प्रतिशत योगदान
वीरगन्जको आफ्नै आर्थिक र औद्योगिक व्यापारको इतिहास रहेकोले वीरगन्ज आर्थिक नगरीको रूपमा पहिचान बनाउन सफल भएको छ । करिब पाँच दशकअघिसम्म मुलुकको आफ्नै उत्पादन न्यून रहेकोले सीमावर्ती क्षेत्र भारतको उत्पादनमा मुलुक धेरै हदसम्म निर्भर थियो ।
भारतीय सिमानाकासँग जोडिएका वीरगन्जको बजार सबैभन्दा ठुलो व्यापारिक बजार भएकोले कुनै बेला पर्सा, बारा र रौतहटबाहेक मुलुकको राजधानी काठमाडौँ, पोखरा, नारायणगढ, हेटाैँडा र जनकपुरलगायतका ठाउँबाट थोक तथा खुद्रा व्यापारी र सर्वसाधारण खाद्यान्न, दैनिक उपभोग्यका सामान, कपडा औषधी जस्ता सामान किनमेल गर्न वीरगन्ज आउने गर्थे ।
वीरगन्जका उद्योगी व्यापारीहरूको सामूहिक प्रयासले २०१७ सालमा वीरगन्ज क्लोथ मर्चेन्ट एसोसिएसनको स्थापना भएपछि वीरगन्जले समय अनुसारको परिर्वतन गर्दै जाँदा व्यापारले गति लिन थालेको हो । वीरगन्जमा कपडा र खाद्यान्नको व्यापार बढी हुने गथ्र्याे । वीरगन्ज मर्चेन्ट एसोसिएसन २०२४ सालमा वीरगन्ज उद्योग वाणिज्य सङ्घको रूपमा स्थापना भएपछि औद्योगिक व्यापारिक गतिविधि थप मैलाउँदै गयो ।
साना र ठुला गरी दुई हजारको हाराहारीमा वीरगन्ज औद्योगिक कोरिडोरमा उद्योगको स्थापना भएको छ । यसमा विदेशी लगानी भित्रिँदा आर्थिक रूपले मुलुकलाई फाइदा पुगेको छ भने स्थानीयवासीले पनि रोजगारी पाएका छन् ।
पञ्चायतकालमा नियन्त्रित अर्थ व्यवस्थाबाट २०४६ सालको खुला र उदार अर्थतन्त्र आत्मसात् गरिएपछि उद्योग व्यवसायले गति लियो । जसले गर्दा विदेशी लगानीका डाबर नेपाल, सूर्य नेपाल, ब्रिटेनीया बिस्कुट, केएनपी जापान (पेन्ट उद्योग) र पछिल्लो पटक पतञ्जली उद्योगको स्थापना भएपछि स्वदेशी लगानीकर्ता पनि उत्साहित भएर लगानी गर्न थालेका छन् । व्यवसायीहरूका अनुसार सरकारले लगानीमैत्री वातावरण बनाएर उद्योग व्यापारप्रति सरकारको नीति र वित्तीय सङ्घ संस्थाले उदारता देखाए स्वदेशी र विदेशी लगानी अझै भित्रिने छ ।
मुलुकको अर्थतन्त्रमा ठुलो आर्थिक मद्दत पनि वीरगन्ज क्षेत्रबाट प्राप्त हुँदै आएको छ । नेपाल सरकारले २०१३ सालमा स्थापना गरेको वीरगन्ज बजार अड्डा, वीरगन्ज छोटी भन्सार कार्यालय हुँदै वीरगन्ज भन्सार कार्यालय र अहिले वीरगन्ज भन्सार कार्यालय (मूल कार्यालय) नगवा र अलौँमा आइसिपी (एकीकृत सुरक्षा जाँच चौकी) को स्थापना भएको छ ।
मुलुकको कुल राजस्व सङ्कलनमा वीरगन्ज भन्सार कार्यालयले एक्लै करिब १८ प्रतिशतको योगदान दिँदै आएको छ । यस्तै मुलुकमा पहिलो पटक वीरगन्जमा स्थापना भई सञ्चालनमा रहेको रेल्वे बेस्ट ड्राइपोर्ट (रेलसँग जोडिएको सुक्खा बन्दरगाह) को सञ्चालनले आयात निर्यात व्यापारलाई गतिदिएको छ ।
श्रौत:- कन्हैयालाल केशरी/गाेरखापत्र

वीरगंज। वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकमा सडक अतिक्रमण गरि बनाइएका संरचना बिहीबार डोजर लगाएर हटाइएको छ ।
हुलाकी सडक अन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाइएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्सट्रक्सनले ठेक्का पाएको छ । ६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्सट्रक्सनले ठेक्का सकार गरेर सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेश कुमार यादवले जानकारी दिनुभयो ।
ठेकेदार कम्पनीका संचालक दिपु साहले अबको एक महिना भित्रैमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी आफ्नो कम्पनीले काम अघि बढाउने बताए ।

‘सडक निर्माणका लागि अवरोधको रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) आजैबाट काम सुरु भएको छ,’ ठेकेदार कम्पनीका साहले भने, ‘अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नै गर्ने गरि हामी काम गर्छौँ ।

राैतहट,१०माघ: रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ मा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी गरिएको छ ।जटहारा टोलस्थित सामुदायिक विद्यालयकाे प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको ब्रहमस्थानमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय राैतहटकी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले घटनाको पुष्टि गर्दै कसैले पराल राखेर दुवै मन्दिरमा आगजनी गरेको अवस्था देखिएकाे बताईन् । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी सहितको टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिइन् ।
स्थानीयवासीले सामाजिक सदभाव बिगार्न यस्ता अराजक गतिविधि गरिएको आरोप लगाएका छन् । उनीहरुले दोषीलाई खोजतलास गरी कडाभन्दा कडा कारबाही गर्न मागपनि गरेका छन् । आगजनीबाट क्षतिग्रस्त हनुमानजीको मूर्ति २५ वर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी दिएका छन् ।