
वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बाराले अव कलैयाबाट सवारी अनुमतिपत्र (लाईसेन्स) बितरण गर्ने भएको छ । २०८० मंसिर २५ मा कार्यालय स्थापना भएसँगै पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको छ ।
मधेश प्रदेश यातायात व्यवस्था कार्यालय कलैयाबाट लाइसेन्स वितरणको प्रकृया अगाडि बढाएकाे कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिए । यस अघि सवारी दर्ता, लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा अव लाइसेन्स नै वितरणको जिम्मेबारी पाएको कार्यालय प्रमुख हुसेनले बताए । उनका अनुसार अव माेटरसाईकल स्कुटीदेखि जीप, कार, अटाे रिक्सा ट्रयाकटर जस्ता हलुका सवारी साधनको लाइसेन्स बितरण गर्ने अधिकार कार्यालयले पाएको बताए ।
अधिकार पाएसँगै लाइसेन्सका लागि फाराम खुल्ला भईसकेको पनि हुसेनले जानकारी दिए । अव भटाभट लाईसेन्स बितरणको कार्य सुरु हुने उनले बताए । लाईसेन्स बितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको हुसेनले बताए ।
कार्यालय नजिकै रहेको गंगापुर ३ स्थित ‘सवारी ट्रायल सेन्टर’ निर्माण भईसकेको छ । नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सो सवारी ट्रायल सेन्टर संचालनमा आएको कार्यालय प्रमुख हुसेनले बताए । सुरुमा हलुका सवारीको लाईसेन्स बितरण गर्ने र विस्तारै सबैखाले बितरण गर्ने नीति लिइने कार्यालयले जनाएको छ ।
यसअघि यातायात कार्यालय बारालाई लाईसेन्स बितरणको अधिकार नहुँदा जिल्लाका हजारौँ सेवाग्राही वीरगञ्ज पुग्नुपर्ने बाध्यता हटेको छ ।