
काठमाडौं- केही महिनाअघि जापानको टोकियोमा आयोजित जापान मोबिलिटी शोमा बीवाईडी एसिया प्यासिफिक सेल्स प्रमुख लि सुलिङले विद्युतीय सवारीको नयाँ भविष्य जापानबाट नै सुरु हुने बताएका थिए। उनले भनेका थिए, ‘जापान स्वदेशी सवारी ब्रान्डमा विश्वास गर्ने देशमा पर्छ तर अब भने परिदृश्य फेरिँदै गएका छन्।’
विदेशी सवारी ब्रान्डका लागि जापानी बजारमा बलियो उपस्थिति बनाउनु निकै कठिन वा असम्भवप्रायः मानिन्थ्यो। संख्याका आधारमा विश्वको सबैभन्दा ठूलो सवारी उत्पादक टोयोटाको देशमा विश्वको ठूलो विद्युतीय कार उत्पादक बन्दै गरेको बीवाईडीले जसरी जापान मोबिलिटी शोमा आफूलाई उभ्यायो यसले जापानी सवारी उत्पादकसँगै धेरै तरंगित बने।
सन् २०२३ को तेस्रो क्वाटरमा टेस्लाले विश्वभर ४ लाख ३५ हजार ५९ वटा विद्युतीय कार बिक्री गर्दा बीवाईडीले ४ लाख ३१ हजार ६ सय ३ वटा कार बिक्री गरेको थियो। चीनमा राम्रो हाइप कायम गर्दै गरेको बीवाईडी विश्व बजारमा पनि त्यही रुपमा उदाउन चाहन्छ र जस्तो सुकै हर्कत गर्न पछि पर्दैन।
युरोपका केही र एसियाका केही देशमा बीवाईडीको बिक्री बढ्दै गएको छ तर बीवाईडीले करछली र अस्वस्थ्य प्रतिस्पर्धाको गैरकानूनी बाटो अवलम्बन गरिरहेको छ। यसको पुष्टि नेपाल र भारतमा भइरहेका गतिविधिले गर्छ।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ई सिक्स आयात गर्दा सवा करोड करछली गरेको पुष्टि गर्दै भन्सार विभागले छली भएको करसहित जरिबानासमेत तिर्न पत्र काटिसकेको छ। यसबारे बिजनेस न्युजले कर छलेको प्रमाणसहित समाचार प्रकाशित गरेको छ।
त्यस्तै एटो थ्रीको आयातमा पनि बदमासी भइरहेकोबारे भन्सार विभागले अनुसन्धान सुरु गरिसकेको छ।
नेपालमा मात्र होइन भारतमा समेत बीवाईडीले सीकेडी आयात गरेर विद्युतीय कार एसेम्बल गर्दा करछली गरेको आशंकामा आयकर विभागले अन्तिम चरणको अनुसन्धान गरिरहेको छ।
त्यस्तै युरोपेली संघले पनि बीर्वाडीले जुन रुपमा अस्वस्थ्य प्रतिस्पर्धा सृजना गरिरहेको छ त्यो स्वभाविक नभएको बताएको छ।
चीनभित्रै बीवाईडी सफल हुनुलाई सामान्य नै मान्न सकिन्छ। कार्बन उत्सर्जनमा सबैभन्दा धेरै योगदान गरिरहेको चीन त्यो कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउन मरिमेटेर लागेको छ। चीनको प्रयोगलाई अनेकन उपायको प्रयोग गरेर बीवाईडीमार्फत चीन सरकार नै विश्व बजारमा जान चाहेको निक्की एसियाले उल्लेख गरेको छ। प्रत्यक्ष प्रविधिमार्फत अघि बढ्दा अवरोध भएपछि चीन यो मिसन सफल बनाउन लागिपरेको हो।