
वीरगञ्जमा जारी “प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता” अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ ।
यहाँस्थित आदर्शनगर रङ्गशालामा दिउँसो अढाई बजेदेखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज र नेपाल पुलिस क्लब भिड्ने छन् ।
नकआउट चरणमा वीरगञ्जले भारतको दिल्लीलाई र पुलिस क्लबले भारतको कलकत्तालाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । यसअघि मङ्गलवार भएको खेलमा झापा फुटबल क्लबलाई २–० गोलले हराउँदै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलको यात्रा तय गरेको थियो ।
मङ्गलवारको विजेता आर्मीले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा सङ्कटा क्लब काठमाडौँको सामना गर्नेछ । सङ्कटा क्लब नकआउट चरणमा चर्च ब्वाइज युनाइटेड नवलपरासीलाई पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशिको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका छ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन् ।
वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको विजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।