सप्तरी २३ फागुन । सप्तरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भई उपचारको क्रममा एका पुजारीको निधन भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका नम्बर ९ घरहरीका ब्रम्ह देव साह भनिने ६५ वर्षीया रेखा दासको अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । दास ईटवालस्थित राम मन्दिरका महन्थ थिए ।
गत शुक्रवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका नम्बर ५ तारखोला पुलस्थित बा ४० प २२१५ नम्वरको मोटरसाइकलले ठक्कर दिएपछि दास गम्भीर घाइते भएका थिए ।
रुपनीस्थित युनिक अस्पतालमा दासको उपचारपछि थप उपचारको लागी विराटनगरस्थित बिराटनर्सिङ अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा विहान ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।
मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका नम्बर ६ का ३० वर्षीय मोहम्मद रमजानी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
source :- Yatradaily