जब मुस्कानले ‘छपाक’ फिल्म हेरिन्
गत साता काठमाडौंको एक हलमा ‘छपाक’ फिल्म हेरिरहँदा एउटा दृष्यमा पुगेपछि मुस्कान खातुन बेस्सरी चिच्याइन्।
मुस्कान तिनै किशोरी हुन्, जसमाथि गत भदौ २१ गते वीरगन्जमा एसिड प्रहार भएको थियो। जीवन–मरणको दोसाँधमा पुगेकी मुस्कान लामो उपचारपछि तंग्रिँदै छन्, अनुहार र मनभरी एसिडका दागहरु बोकेर ।
रुन निषेध छ
आफूजस्तै किशोरीको कथा, उमेर उस्तै, भोगाइ उस्तै। मालतीमा आफूलाई देखिन् मुस्कानले। सँगै रहेका मुस्कानका बाबु–आमा पनि सम्हालिन सकेनन्।
मालती (दीपिका पादुकोण) को अनुहारमा एसिड छ्यापिँदाको दृष्य थियो त्यो। मुस्कानलाई आफ्नै अनुहारमा छ्यापिएजस्तो लाग्यो, उनले दुई हातले अनुहार छोपिन्। एसिड छ्यापिँदाको जलन र त्यसपछिको पीडा फेरि दोहोरियो।
एसिडले मुस्कानको अनुहारमात्रै होइन, उनकी आमा सहनाज र बाबु रसुलको मन पनि उसैगरी जलाएको छ। छोरीको अनुहारमा खुसी ल्याउन प्रयत्नशील छन्, दक्षिणी सहर वीरगञ्जका यी दम्पती।
आमाबुवासँग कलंकीमा बस्छिन् मुस्कान। हप्तैपिच्छे अस्पताल जानुपर्छ। उसो त काठमाडौंको हावा समेत मुस्कानका लागि पीडादायी छ। एसिडले जलेको घाउमा प्रदूषित हावाले हिर्काएर संक्रमण गराइदिन्छ। त्यसैले खुला अनुहार लिएर बाहिर ननिस्कन सुझाव दिएका छन् डाक्टरले। बाहिर निस्कनै परे बुर्काले अनुहार छोप्छिन्।
गएको मंगलबार कुरा गरिरहँदा उनका मसिना औंला विस्तारै अनुहारतर्फ चलमलाइरहेका थिए। केही बेरमा उनका कौतुहलपूर्ण ठूला आँखा रसिला हुँदै गए।
तर, रुन पनि निषेध छ मुस्कानलाई। आँखाबाट निस्केको नुनिलो पानी गालासम्म झर्यो भने घाउ चहर्याउन थाल्छ।