
वीरगंज, २४ मंसिर वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्परा बचाई राख्नु पर्नेमा जोड दिनुभएको छ ।
पहिचानको आधार नै परापूर्वकालदेखि चल्दै आएको परम्परा, रितिरिवाज रहेको भन्दै यसलाई जीवन्त राख्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
आइतबार महानगरपालिकाका मुस्लिम समुदायको भेलाबीच गठन भएको ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक सहिष्णुतासहितको मौलिक समाज निर्माण गर्ने कार्यमा सबै लाग्न आग्रह पनि गर्नुभयो ।
केही उच्छृङखल व्यक्तिका कारण वर्षौँदेखि एक ढिक्कामा रहेको समाज टुक्रयाउने खेला भइरहेको प्रति सबै सजग र सचेत भएर त्यसका विरुद्ध एक भएर लाग्नु पर्ने पनि बताउनुभयो ।
वीरगंज महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण मुस्लिम समुदायको सामाजिक तथा सांस्कृतिक पक्षहरुको अध्ययन एवं अनुसन्धान गरी आवश्यक सुझाव पेश गर्ने गरि महानगरद्वारा ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’ गठन भएको हो । महानगरको ३२ वटै वडाबाट सदस्य रहने गरि समितिको संयोजको जिम्मेवारी महम्मद अब्बास मंसुरीलाई दिइएको छ ।
कार्यक्रममा वीरगंज महानगरपालिकाको वडा नं. १४ का वडाध्यक्ष महबुब एलाही, मौलाना असगर मदनी, खुश महम्मद, शेष लाल महम्मद, कलिमुल्लाह मियाँ ठकुराई, खैरुद्धिन मियाँ लगायतको सहभागिता रहेको थियो ।
pilot

वीरगञ्ज । बारामा १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले प्रसौनी गाउँपालिका – ४ खुटवा निवासी २६ वर्षीय साजिद अन्सारीलाई नियन्त्रणमा लिएको हो ।
कात्तिक १९ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय बारामा दिएको उजुरीको आधारमा अन्सारीलाई नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।
काठमाडौँ । चलचित्र विकास बोर्डले ‘एडल्ट’ फिल्ममा १६ वर्षमुनिका बाल दर्शकलाई समेत टिकट बिक्री गरिएको पाइएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।
बोर्डका अनुगमन समिति संयोजक राजु केसीले अहिले चलिरहेको हिन्दी फिल्म ‘एनिमल’मा बाल दर्शकलाई पनि हलभित्र प्रवेशको अनुमति दिइएको पाइएको र यसविरुद्ध आफूहरु कडाइको साथ प्रस्तुत हुने बताए ।
केसी संयोजकत्वको टोलीले सोमबार बेलुका नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा छड्के अनुगमन गरेको थियो । चेकजाँचका लागि हलको टोली त्यहाँ पुग्दा बालबालिकालाई पनि टिकट बिक्री गरी फिल्म देखाइएको भेटिएको बोर्डद्वारा प्रेषित विवरणमा उल्लेख छ ।
हल व्यवस्थापनलाई तत्काल टिकट फिर्ता गर्न लगाइएको थियो । नेपालको सेन्सर बोर्डले १६ वर्षभन्दा मुनिकाले हेर्न नपाउने सर्तमा ‘एनिमल’लाई एडल्ट सर्टिफिकेट दिएको थियो ।
श्रोत:- ऑनलाइनखबर

वीरगंज,
मिति २०८०।०८।१५ गते अं.१७;०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्तीचोक स्थित सडकखण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१ बस्ने वर्ष २४ को समिप श्रेष्ठ र पछाडी सवार ऐ.ऐ.बस्ने वर्ष २८ को सुवास पौडेलले लगाएको हुडी भित्र बाँया हाँतको भागमा लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मि. ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।
बेवारिसे अवस्थामा रहेको राधादेवी मेमोरिय स्कुल अब महानगर र लायन्सले संयुक्त संचालन गर्ने

वीरगंज, १७ मंसिर
वीरगंजको आदर्शनगरमा रहेको राधादेवी स्कुल अबदेखि वीरगंज महानगरपालिका र लायन्स क्लबले संयुक्त रुपमा संचालन गर्ने भएको छ ।
विद्यालय संचालनका लागि विगत ४२ वर्ष अघि जग्गा दान गर्ने जग्गा दाता मुरलीधर शर्मालाई आइतबार एक कार्यक्रका बीच अभिनन्दन गर्दै उनको स्वर्गीय आमाको नामबाट स्थापना भएको स्कुल अबदेखि महानगर र लायन्स दुबैले संयुक्त रुपमा संचालन गर्ने सहमति भएको हो ।
विगतमा बेवारिसे अवस्थामा रहेको स्कुललाई पुनर्जीवन दिएर नयाँ ढंगबाट गुणस्तरीय पठन पाठनको व्यवस्था मिलाउने गरी संचालन गरिने महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
उहाँले विद्यालय संचालनका लागि करोडौँ मूल्यको जग्गा उपलब्ध गराउने शर्मा परिवारलाई आभार प्रकट गर्दै अहिलेको समयमा पनि व्यक्तिगत भन्दा सामाजिक हितका लागि दान गर्ने शर्मा समाजकै लागि उदाहरणीय व्यक्ति रहेको बताउनुभयो ।
जग्गा दाता परिवार र लायन्सको सोच अनुरुप विद्यालयलाई गुणस्तरीय र सबैको पहुँचमा रहने गरी पठन पाठन गराउने व्यवस्था महानगरले गर्ने भन्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य गर्न शिक्षा महाशाखालाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा वरिष्ठ उद्योगी अशोक वैद्यले बेवारिसे अवस्थामा रहेको विद्यालयलाई पुनर्जीवन दिन महानगरले थालेको कदम सह्रानीय रहेको बताउनुभयो ।
विद्यालय संचालनका लागि मुरलीधर शर्माले २०३८ असार १५ गते ७ कट्ठा ५ धुर जग्गा विद्यालयको नाममा रजिष्टर्ड गरेरै दान दिनुभएको थियो । मुरलीधर शर्मा र उनको धर्मपत्नी विमलादेवी शर्मालाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
विद्यालय संचालनका लागि दान गरेको जग्गामा गएको ४२ वर्षदेखि विद्यालय संचालन बेवारिसे रुपले भइरहेको भन्दै जग्गा दाता शर्माले असन्तोष व्यक्त गर्दै आउनुभएको थियो ।
अब भने महानगरले नै विद्यालय संचालन गर्ने जमर्को गरेकाले गुणस्तरीय र सबैको पहुँचमा रहने गरि विद्यालय संचालन हुनेमा आफू विश्वस्त रहेको पनि शर्माले बताउनुभयो ।
लायन्स क्लब अफ वीरगंजका अध्यक्ष पप्पु श्रीवास्तवको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह, लायन्स क्लब अफ वीरगंजका भुतपूर्व अध्यक्ष बलराम श्रेष्ठ, छेदुप लामा, विनित जयसवाल, ग्रिन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।
रणवीर कपुर स्टारर ‘एनिमल’ले भारतमा ६३.८० करोड भारु नेट ओपनिङ गरेको छ । जसमा हिन्दी संस्करणबाट ५४.७५ करोड भारु र दक्षिण भारतीय संस्करणबाट ९.०५ करोड भारु छ ।
‘एनिमल’ले शुक्रबार नेपालमा १.५० करोड नेरुको ओपनिङ गरेको छ ।
‘एनिमल’ बलिउड फिल्म इतिहासमा तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म हो । ‘जवान’ले ६५.५० करोड भारु, ‘पठान’ले ५५ करोड भारु र ‘एनिमल’ले उक्त कमाइ गरेका हुन् । ओपनिङ कमाइमा एनिमलले केजीएफ २ र वारलाई पनि उछिनेको छ ।

वीरगञ्ज । “मधेस युनाइटेड नेसन्स सिमुलेशन” वैचारिक युवा समाज र अमेरिकी दूतावासद्वारा आयोजित संयुक्त राष्ट्र सङ्घको एउटा नमुना सम्मेलन हो ।
सम्मेलनले मधेस प्रदेशका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र सङ्घको कार्य प्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्ने अवसर प्रदान गर्दछ । सम्मेलन अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरम हो, जसको मूल उद्देश्य सहभागीमा अनुसन्धान, नेतृत्व, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीप वृद्धि गर्नेमा केन्द्रित छ ।
त्यसै गरी युवाहरूको जीवनमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने, र बौद्धिक रूपमा सचेत विश्वव्यापी नागरिक बन्न उनीहरूलाई सहयोग गर्ने दीर्घकालीन दृष्टिकोणका साथ यो कार्यक्रम अघि बढ्दै आएको छ ।
सन् २०१४ मा, वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र सङ्घ एभरेस्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (इआइएमयुएन) बाट आफ्नो यात्रा सुरु गरेको थियो । सन् २०१६ देखि संस्थाले नेपालमा स्थित अमेरिकी दूतावाससँग सहकार्य गरी इआइएमयुएन सञ्चालन गर्दै आएको छ ।
सम्मेलन “ रोड टु इआइएमयुएन” अभियानअन्तर्गत पर्ने प्रादेशिक स्तरको सम्मेलनमध्ये एक हो । यस वर्ष “मधेस युनाइटेड नेसन्स सिमुलेशन” को तेस्रो संस्करण वीरगञ्जमा आयोजना हुँदै छ । तिन दिनसम्म चलने सम्मेलनमा सहभागिताको लागि आवेदन फारम खुला गरिएको छ । सम्मेलनमा भाग लिनको लागि तपाईँ यहाँ क्लिक गरेर फारम भर्न सक्नु हुन्छ ।
कार्यक्रमको बारेमा थप जानकारीका लागि तपाईँले युथ्स थिन्कर्स सोसाइटी र एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्सको सामाजिक सञ्जालमा गएर लिन सक्नु हुनेछ । युवाहरूको लागि एमयुएन एउटा सुनौलो अवसर रहेकोले यसलाई नछुटाउन आयोजकहरूको आग्रह छ ।

विराटनगर, १३ मंसिर । विराटनगरमा भ्रामक÷मिथ्या सूचना विरुद्धको कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक÷मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो ।
यहि मंसिर १४ र १५ गते विराटनगरस्थित शिक्षादीप कलेज र अरनिको कलेजमा कार्यशाला आयोजनाको तयारी हुँदैछ । कार्यशालामा युवा परिषदमा आबद्ध युवाहरुले भ्रामक÷मिथ्या सूचना विरुद्ध तयार पारेका सामाग्रीहरु प्रस्तुत गर्नेछन् । करिब दुई घण्टासम्म चल्ने कार्यशालाका सहभागिहरुले सहि सूचना र मिथ्या सूचना बीचको फरक छुट्टयाउन विभिन्न विधीहरुसमेत सिकाइने छ ।
मगलबार बिहान पत्रकारहरुसँगको भेटघाटमा प्रोजेक्ट जागरणकी संयोजक श्रृजा खनालले मिथ्या सूचनाको प्रभाव केही हदसम्म न्युन गर्न प्रोजेक्ट जागरण सुरु गरेको बताइन् । “सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी नै छ,” उनले भनिन्,“केही हदसम्म न्युन गर्न र सर्वसाधारणलाई मिथ्या सूचना र सहि सूचना बीचको फरक बुझ्न सजिलो बनाउन हामीले प्रोजेक्ट जागरण सुरु गरेका हौं।”
उनका अनुसार प्रोजेक्ट जागरण गलत÷भ्रामक सूचना विरुद्ध युवाहरुलाई सचेत पार्दै समुदायलाई सशक्त पार्ने अभियान हो ।

वीरगंज, ७ मंसिर
वीरगंजको नारायणीे क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नती गर्न महानगर आफैँ अघि सरेको छ । संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनःनिर्माणका लागि उपेक्षा गरेकाले महानगर आफैँले रंगशाला व्यवस्थित बनाउने जमर्को गरेको हो ।
बिहीबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्थलगत निरीक्षण गर्नुहुँदै नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगरले गर्ने बताउनुभयो ।
रंगशालामा अभ्यासका लागि मुख्य मैदानको दक्षिणतर्फको क्षेत्र प्रयोगमा ल्याउने गरि आवश्यक काम अघि बढाउन उहाँले मातहतका कर्मचारिलाई निर्देशन समेत दिनुभएको छ ।
‘मुख्य मैदानलाई असर नपर्ने गरी अभ्यासका लागि नजिकैको दक्षिण तर्फ रहेको खाली ठाउँमा छुट्टै पीच बनाउन काम अघि बढाउनुस’, उहाँले भन्नुभयो, ‘मुख्य मैदान प्रतियोगिताका लागि मात्रै प्रयोगमा ल्याऔँ ।’
महानगरको योजना प्रमुख तथा प्राविधिक सल्लाहकार सहित निरीक्षणमा पुग्नु भएका मेयर सिंहले तत्काल रंगशालाले ओगटेको जग्गाको नापजाँच गरेर घेराबेरा गर्ने र अभ्यासका लागि छुट्टै स्थान बनाउने गरि काम अघि बढाउन टोलीलाई निर्देशन दिनुभएको हो ।
रंगशालाको स्तरोन्नती नहुँदा यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेको छैन । अहिले पर्सा क्रिकेट संघको अगुवाईमा अन्तर्राष्ट्रिय स्तरको ‘प्रो क्लब च्याम्पियनसिप’ को दोस्रो संस्करणको प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।
त्यसैलाई मध्यनजर गर्दै महानगरले रंगशाला स्तरोन्नतीका साथै आवश्यक काम अघि बढाउने जमर्को गरेको हो ।
पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले रंगशालाको स्तरोन्नतीका लागि महानगर अघि बढ्नु खुःसीको कुरा रहेको भन्दै यसले खेल क्षेत्रको भविष्य उज्वल रहेको देखाएको बताउनुभयो । ‘महानगरले क्रिकेट रंगशाला व्यवस्थित गर्ने गरि महानगरले अभिभावकत्व लिएकाले खेलाडीहरुमा उत्साह थपिएको छ’, उहाँले भन्नुभयो, ‘वीरगंज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने स्थल रहेकाले त्यसलाई जोगाउन पनि यो रंगशाला व्यवस्थित हुन जरुरी छ ।’
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो करियर यही रंगशालाबाट सुरुवात भएको बताउँदै रंगशालाको स्तरोन्नतीका लागि महानगरले योजना अघि बढाएको सुन्दा आफूहरुमा उत्साह थपिएको बताउनुभयो ।
महानगरले यस अघि आदर्शनगर रंगशाला स्तरोन्नती गर्दै यहाँका खेलाडीहरुको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।
अनुगमनमा महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्य, योजना प्रमुख अवधेस कुशवाहा, सरसफाई प्रमुख सर्फुद्दिन मियाँ, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो ।

बिरगंज स्थित वडा नं १० मा रहेको घडीअर्वा पोखरीमा छठघाटको सम्पूर्ण तयारी पूरा भएको छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा छठपूजा व्यवस्थापन समितिका सचिव लखनलाल साह कानूले छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको बताए । उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा करीब १५ लाख ४१ हजार ५०० सय रुपियाँ खर्च हुने अनुमान गरिएको बताए । उनले टेन्ट–पण्डालमा ७ लाख ५१ हजार, परिसर बाहिरको बत्ती सजावटमा १८ हजार, भिडियो ग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८ हजार , सरसफाइमा ६० हजार खर्च अनुमान गरिएको बताए।
त्यस्तै सुरक्षा उपसमितिका संयोजक मुन्ना साह कानु ले छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा र सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकमा गरी १५० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट्स क्लबका ५० जना स्वंयसेवक परिचालन गरिने जानकारी गराए । यस्तै छठघाट परिसरमा २० वटा भन्दा बडि सिसिटिभी क्यामेरा जडान गरिएको उनले बताए । कार्यक्रम अवधिभर सुरक्षा लाई मध्यनजर गर्दै वारुणयन्त्र र एम्बुलेन्स सेवा परिचालन गरिने उनले बताए ।
आज भएको पत्रकार समेलन घडिअर्वा छठ पुजा ब्यवस्थापन समिति का अध्यक्ष दिप कुमार कानुको अध्यक्षता मा बसेको थियो भने प्रमुख अतिथी वडा नं १० का वडा अध्यक्ष सुशील साह कानु रहेका थिए । उक्त समेलन मा छठ पुजा का पुर्व अध्यक्ष हिरा कानु , प्रेम कानु , मदन प्रसाद गुप्ता,लखन साह कानु,हालका उपाध्यक्ष राकेश साह कानु ,कोषाध्यक्ष तिलक साह,सह-कोषाध्यक्ष कन्हैयालाल गुप्ता,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी गौरी शंकर गुप्ता लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको सहजीकरण घडिअर्वा छठ पुजा ब्यवस्थापन समिति प्रचार प्रसार उपसमिति का संयोजक क्रान्ति साह ले गरेका थिए ।